नेपालको विकासको मुलभूत सुत्र H2A, सिए विद्यार्थी बादल बस्नेतको लेख

पटक पटक छिमेकिको हस्तक्षप अनि नाकाबन्दी सहेर पनि चेत खुलेका नेपाली नेता, अनि हामी जनता छिमेकिको गुलाम भएर बाँच्न आतुर देखिन्छौँ तर आफ्नो आत्मनिर्भरताको बाटो खोज्न जागरुक देखिदैनौं । / महिनादेखि जनताको घर आँगनमा दैनिक अत्यावश्यक वस्तुहरुको अभाव खड्किँदा पनि हाम्रा नेताहरुलाई कुनै अभावको महसुस समेत भएको छैन । यस्ता नेताहरुबाट कुनै पहलको आसा गरेर बस्नु हामी जनताको बेवकुफी हो भने भारतले नाकाबन्दी गर्दा चीनसंँग हात फैलाउन जानु हाम्रा नेताहरुको बेवकुफी हो वा भनौँ नेताहरुको दुरदर्शी कदम पक्कै होइन । यस्तै अवस्था रहने हो भने कुनै दिन चीनबाट पनि हालको भारतले गरेको जस्तो व्यवहार नगर्ला भन्न सकिन्न ।  

यो देशमा आजको मितिमा जतिपनि राजनेताहरु छन् जसले देशमा राजनीति गर्दै छन् उनीहरुमा सिर्फ राज गर्ने क्षमता होला तर राजनीति गर्ने क्षमता भएका नेता देशको इतिहासदेखि हालसम्म बिरलै देख्न पाइएको छ।अतः हालको परिवेशमा जुन परिस्थिति देशले बेहोर्नुपरेको यसको मूल कारण देशको शासनवर्गमा रहेको नीतिको कमी हो भन्दा कुनै अतीयुक्ति नहोला अथवा भनौं हालको छिमेकिसंँगको सम्बन्ध बिग्रिनुमा देशको कुटनीतिक नियोगको कमजोरी मान्न सकिन्छ । 

जहाँसम्म देशको आर्थिक उन्नतिको कुरा आउँछ, छिमेकिहरुसंगको सम्बन्ध जबसम्म राजनीतिक कुटनीतिक तवरबाट सुमधुर रहँदैन तबसम्म देशको बैदेशिक व्यापार समानन्तर हिसाबले अगाडी बढ्न सक्दैन। तर जब कुरा आउँछ देशको आत्मनिर्भरताको तब छिमेकिहरु संगको समानन्तर  सम्बन्ध संगसंगै देश भित्रका प्राकृतिक श्रोत साधनको सहि सदुपयोग अपरिहार्य जसमाथि छिमेकिहरु बर्षौदेखि गिद्धे नजर लगाइरहेको छ हालको नाकाबन्दीको एउटा जड यो पनि रहेको बुझ्न सकिन्छ । 

जसरि एक जीवनको विकाशको लागि H2O अपरिहार्य त्यस्तै नेपालको आर्थिक विकाश आत्मानिर्भरता संग जोडिएको H2। 
H2A नेपालको विकाशको मुलभूत सुत्र हो:

H- (Hydroelectricity) जलबिद्धुत
H- (Hospitality) पर्यटन
A- (Agriculture) कृषि

नेपालको परनिर्भरतालाई पर लैजानको लागि हामी नेपालीले यी तिन व्यवसायको सहायता लिनु जरुरी छ। यसमा केहि पहल नेपाल सरकारको तर्फबाट हुनुपर्छ भने धेरै पहल हामी नेपाली जनताबाट नै हुनुपर्छ। हामी हाम्रो हातमा जब स्नातक तहको प्रमाणपत्र पर्छ तब खेति किसानी गर्न हिच्किचाउछौँ, घर अगाडीको खेत बाँझो होला तर हामी स्वाभिमानी नेपाली त्यो खेतमा केहि उब्जाउन हिच्किचाउछौँ, तर लाखौं रुपैयाँ दलाललाई बुझाएर खाडीमा मजदुरी गर्न जाँदा हाम्रो स्वाभिमानी सिर झुक्दैन। हाम्रा केहि शिक्षित साथीहरु अमेरिका, युरोपमा बसेर सामाजिक संजालमा राष्ट्रभक्ति झल्काउँछौँ अनि सबेरै उठेर अमेरिकी सरकारको गुलामी गर्न पछि हट्दैनन्। अनि कति मित्रहरु अमेरिका यूरोपमा विलासी जीवन बिताउदा बिताउदै खुलेआम नेपाली हुँ भन्न सर्माउँछन्, तब हाम्रो मगजको कुनै कुनामा विचार आउँदैन देशलाई यो स्थान सम्म धकेल्नुमा कहिँ कतै हाम्रो पनि कमजोरी होइनहामी जस्ता सक्षम युवा विदेशी भुमिमा विदेशी सरकारको गुलामी गरिरहँदा नेपाल सरकारलाई रेमिट्यान्स मिलिरहेको होला तर देशलाई जति गर्न सक्छौं त्यो पक्कै मिलेको छैन। 

देशको बिकराल राजनीतिक परिवेश अनि छिमेकि मुलुकहरुले पटक पटक धोका दिएको अवस्थामा अब हामीले सोच्ने समय आएको छ। यो देशको लागि 'हामीले नगरे कसले गर्ने अनि अहिले गरे कहिले गर्ने'। नेपाल हामी नेपालीहरुका लागि एउटा सुनको चरी हो, यस भूमिबाट हामीले धेरै कुरा पाउन सक्छौं । प्रकृतिले हामीलाई धेरै सुन्दर उपहारहरु दिएको , यसको सहि उपयोग गर्न सकियो भने पर्यटन व्यवसाय नै देशको प्रमुख आय श्रोत बन्न सक्छ। त्यस्तै हामीसंग पर्याप्त जग्गा जमिन जसको सहि सदुपयोग गर्ने हो कृषि क्षेत्रलाई आधुनिकिकरण गर्ने हो भने हामी आत्मनिर्भर मात्र होइन, कृषि जन्य बस्तुहरुको निर्यात समेत गर्न सक्छौं। जलश्रोतको दोश्रो धनि देशको रुपमा चिनिने हामी, सुन्दा पत्यार लाग्न सक्छ कि आजको मितिमा हामी पानि समेत आयात गरेर पिउछौँ, जबकि हामीसंग सम्पूर्ण देश झलमल पारेर पनि निर्यात गर्न पुग्ने जलबिधुतको खानी छ। 

तसर्थ हामी नेपाली प्राकृतिक श्रोत साधनले धनि छौँ, कला संस्कृति अनि विविधताको धनि छौँ, तर गरिब छौँ केवल खुला सोचको, सकारात्मक सोचको। जुन दिन हामी एक अर्काको खुट्टा तान्न छोडेर आफु आफ्नो काम गर्छौ, जुन दिन हामी ढोंगी राष्ट्रबाद छोडेर बाँझो खेतमा सुन फलाउन थाल्छौं, त्यो दिन हामीलाई कसैले नाकाबन्दी लगाउन सक्दैन अनि नेपाललाई अगाडी बढ्न कसैले रोक्न सक्दैन। तब हाम्रो H2A सुत्र विश्वले पछ्याउने छ।