सिए बिधार्थी प्रियंकालाई मिस पूर्वाञ्चलको ताज

धरान- मिस पूर्वाञ्चल २०१५ को उपाधि बिराटनगरकी १८ वर्षीया प्रियंका श्रेष्ठले जितेकी छन्। श्रेष्ठ चार्टड एकाऊन्टेन्सीकि बिधार्थी हुन्।  बिहिबार राति धरानको सभागृहमा सम्पन्न सौन्दर्य प्रतियोगितामा १३ प्रतिस्पर्धीलाई पछि पार्दै उनले छैठौं मिस पूर्वाञ्चलको ताज पहिरिएकी हुन्। १४ बट अन्तिम ५ मा परेकी उनले मुख्य निर्णायक रहेका बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका शिक्षाध्यक्ष डा. बिक्रम श्रेष्ठको प्रश्नमा उत्कृष्ट जवाफ दिँदै ताजको हकदार बनिन्। टप ५ का प्रतिस्पर्धीलाई मुख्य निर्णायक श्रेष्ठको प्रश्न थियो- 'फेसबुकमार्फत् साथी बनेकाहरु बिहे गरेका छन्, यसलाई तपाईँ के भन्नुहुन्छ?' तीन मिनेटको समयमा प्रियंकाले लेखेकी थिइन्- 'विश्वभर सामाजिक सञ्जालहरु प्रख्यात छन्, यसबाट युवाहरु पनि प्रभावित हुन्छ। बिहे पनि गर्छन्। मेरो विचारमा बिहे गर्न विचार मिल्नुपर्छ, एक अर्कामा विश्वास र सम्मान हुनुपर्छ, त्यसो भयो भने जुनसुकै सामाजिक सञ्जालबाट पनि बिहे हुनसक्छ।'

विजेता प्रियंकाले उपाधि ताजसहित यामाहा स्कुटी हात पारिन् भने हङकङ भ्रमणको अवसर पनि पाइन्। यस्तै, भेडेटार होटल एसोसिएशनको पर्यटन दूत, आशरा सुधार केन्द्र र बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको पनि उनी सद्भावना दूत घोषित भएकी छन्। नेपाल कर्मश क्याम्पसमा चार्टर एकाउण्टेण्ट अध्ययनरत उनी भविष्यमा समाजसेवा गर्न चाहन्छिन्। नाच्न र चित्र बनाउनमा उनलाई रुचि छ।

प्रतियोगितामा विजेता प्रियंकाले मिस पब्लिक च्वाइसको टाइटल पनि जितिन्। फष्ट रनरअप अनुले मिस ट्यालेण्टको टाइटल जितिन् भने मिस चार्मिङ सायरा लिम्बु, मिस पर्सनालिटी सञ्जु मल्ल ठकुरी, मिस फ्रेण्डसिप मिशाल श्रेष्ठ, मिस फोटोजेनिक समुना लिम्बु र मिस वेष्ट वाक सरुपा थापा मगरले जितिन्। टाइटल विजेताले जनही नगद १० हजार थापे। भव्य समारोहमा गायक नवराम राई, नवराज बस्नेत, वविन लिम्बु र पदम राईले गीत गाएर मनोरञ्जन दिलाए।